जीतपुरसिमराः जसपाको उम्मेदवारी फिर्ता, निर्णय भने ‘नोट अफ डिसेन्ट’


eShilalekh

१६ बैशाख २०७९, शुक्रबार २०:१३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएको जनता समाजवादी पार्टी नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।

केन्द्रीय गठबन्धनको निर्णयलाई कार्यान्यवनमा ल्याउन भन्दै शुक्रवार बसेको पाँच दलीय गठबन्धनको बैठकपछि जसपाले उम्मेदवारी फिर्ता लिएको हो ।

बैठकले केन्द्रको निर्णय विपरित परेको उम्मेदवारी फिर्ता गर्नुपर्ने, वडा तहमा गठबन्धन हुन नसकेकाले स्वस्थ प्रतिस्पर्धा गर्ने, निर्वाचनपछि जसपा, एकिकृत समाजवादी र जनमोर्चाको एक-एक जनालाई कार्यपालिका सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णयअनुसार उम्मेदवारी फिर्ता लिएको जसपाले माईन्युटमा भने ‘नोट अफ डिसेन्ट’ लेखेको छ । जसपा केन्द्रीय सदस्य भरत खड्का र नगर प्रमुखका उम्मेदवार सोहन शर्माले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

केन्द्रीय निर्णयअनुसार वडातहमा समेत गठबन्धन हुनुपर्ने भएपनि दलहरुले वडातहमा गठबन्धन नगरेर नगर प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गरेकोप्रति जसपाले असन्तुष्टी जनाएको छ । जसपाले वडातहमा हुने स्वस्थ प्रतिस्पर्धामा अन्य पार्टीको नगर प्रमुख र उपप्रमुख उम्मेदवारलाई लिएर चुनाव प्रचारमा हिड्नु आत्मघाती हुने भन्दै असहमती जाहेर गरेको नगर प्रमुख उम्मेदवार एवम् जसपा नगर अध्यक्ष शर्माले बताए ।

बैठकको निर्णयअनुसार जसपाका नगर प्रमुख उम्मेदवार शर्मा, उपप्रमुख चित्ररेखा चौधरी, जनमोर्चाका नगर प्रमुख उम्मेदवार शेरबहादुर केसी, नगर उपप्रमुख उम्मेदवार देवी आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्