जीतपुरसिमरामा १५ जनाको उम्मेदवारी फिर्ता, आज चुनाव चिन्ह प्रदान गरिने


eShilalekh

१७ बैशाख २०७९, शनिबार ११:०४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न पदका लागि उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिका बमोजिम बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका विभिन्न पदका उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख पदका तीन, उपप्रमुख पदका दुई, वडाध्यक्ष पदका पाँच र सदस्य पदका पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रमुख पदका लागि उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका सोहन शर्मा, राष्ट्रिय जनमोर्चाका शेरबहादुर केसी, उपप्रमुख पदमा जसपाकी चित्ररेखा चौधरी, जनमोर्चाकी देवी आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा बागी उम्मेदवारी दिएका नेकपा एमालेका मदन तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तिमिल्सिनाले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी फिर्ता लिने समय सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिवार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्