वीरगन्जमा पार्किङको सामान्य विवादले लियो उग्र रूपः एक जनाको मृत्यु


eShilalekh

२३ माघ २०८२, शुक्रबार १४:५६

वीरगन्जः वीरगन्जमा शुक्रबार बिहान मोटरसाइकल पार्किङको विषयलाई लिएर उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरई रहेका छन् ।

प्रहरीका अनुसार राधेमाईस्थित कर्बोला अगाडी मोटरसाइकल पार्किङको विषयमा राउत र वीरगन्ज महानगरपालिका २३ प्रसौनीका करिब ३२ वर्षीय अर्जुन यादव बीच विवाद सुरु भएको थियो ।

घटनास्थलमा भएको विवादले उग्र रुप लिँदा कुटपिटमा राउत गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका राउतलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनापछि प्रहरीले कुटपिट तथा घटनामा संलग्न रहेको आरोपमा यादवलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्