जीतपुरसिमराको वडातहमा गठबन्धनका दलहरुको छुट्टाछुट्टै उम्मेदवार, वडामा तिव्र प्रतिस्पर्धा


eShilalekh

१९ बैशाख २०७९, सोमबार १२:२७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुबीच वडातहमा तीव्र प्रतिस्पर्धा देखिएको छ । केन्द्रीय निर्णयअनुसार वडातहमा तालमेल गर्न नसकेपछि गठबन्धनका दलहरुले वडातहमा छुट्टाछुटै उम्मेदवार खडा गरेका हुन् ।

गठबन्धनको केन्द्रीय निर्णयअनुसार नगर प्रमुख पदमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले उपमहानगरपालिकाको १७ वटा वडामा छुट्टै उम्मेदवार बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ । २०७४ सालको स्थानीय तहमा निर्वाचित १० वडासहित माओवादीले १७ वटा वडामा गठबन्धनकै अन्य दलसंग प्रतिस्पर्धा गरिरहेको हो ।

प्रमुख पदका लागि गठबन्धनमा आवद्ध दल र कार्यकर्तासंग मत मागिरहेको माओवादी केन्द्रले वडातहमा भने तिनै दलसंग प्रतिस्पर्धा गरेको देखिन्छ । वडातहमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

गठबन्धनकै अर्को दल नेपाली कांग्रेसले उपमहानगरपालिकाको २४ मध्ये २२ वटा वडामा आफ्नो उम्मेदवार उभ्याएको छ । केन्द्रीय गठबन्धनको निर्णयअनुसार उपप्रमुख पदमा मात्रै उम्मेदवारी दिएको कांग्रेसले वडातहमा भने छुट्टै प्रतिस्पर्धा गरेको हो ।
गठबन्धनमा आवद्ध अन्य तीन दल एकिकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले १० र राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो उम्मेदवार खडा गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामा सहमती नमिलेपछि वडातहमा उनिहरु एकअर्काका प्रतिस्पर्धी बनेका हुन् ।

भागबण्डाका लागि पटकपटक बसेको गठबन्धनको वैठकमा माओवादी केन्द्रले १३ वटा वडामा दावी गरेको थियो । प्रमुख पद लिएको माओवादीले धेरै वटा वडामा दावी गरेपछि कांग्रेससहित अन्य दलले असहमती जनाएका थिए । प्रमुख पद पाएको माओवादीले धेरै वडामा दावी गर्न नहुने तर्क कांग्रेसले राखेको थियो । तर माओवादीले वडा नछाड्ने अडान लिएपछि अन्तत सबै पार्टी छुट्टाछुट्टै भिडन्तमा उत्रिएका हुन् ।

बैठकमा कांग्रेसले उपप्रमुखसहित १५ वडा प्राप्त गर्ने आधार प्रस्तुत गरेको थियो भने जनता समाजवादीले १२, एकिकृत समाजवादीले १० र जनमोर्चाले ३ वडा पाउनुपर्ने दावी राखेको थियो । पटकपटक बसेको वैठकमा सहमती हुन नसकेपछि दलहरु छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्