जीतपुरसिमरा २ मा प्रतिष्ठाको लडाई


eShilalekh

१९ बैशाख २०७९, सोमबार २०:५१

सिमराः स्थानीय तह सदस्य निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिदै जाँदा सबै राजनैतिक दलले आफ्नो चुनावी अभियानलाई तिब्रता दिईरहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदका लागि पाँच त्रिपक्षीय प्रतिस्पर्धा छ । पाँच दलीय गठबन्धनमा आबद्ध राजनितिक दलले वडा तहमा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिरहेका छन् ।

जीतपुरसिमराको महत्वपुर्ण वडाको रुपमा हेरिने वडा नम्बर २ मा पनि चुनावी माहोल बढ्दो छ । विविध हिसाबले अन्य वडा भन्दा सुविधा सम्पन्न मानिएको यस वडालाई सबै राजनैतिक दलले प्रतिष्ठाको बिषय समेत बनाउने गर्दछन् ।

जीतपुरसिमरा २ को नेतृत्व लिन यति खेर नेकपा एमालेको तर्फबाट धनबहादुर श्रेष्ठ, माओबादी केन्द्रको तर्फबाट तिलकबहादुर श्रेष्ठ, नेपाली कांग्रेसको तर्फबाट विजय बोम्जन, लोकतान्त्रिक समाजवादी पार्टीबाट नेत्रबहादुर श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यादव अधिकारी चुनावी मैदानमा छन् ।

कसको अवस्था के छ ?
तिलक बहादुर श्रेष्ठ स्थानीय निर्वाचन २०७४ मा नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् भने धन बहादुर श्रेष्ठ सोही निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य हुन् । तत्कालिन नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार कमला अधिकारीलाई बनाएको भन्दै असन्तुष्ट पक्षका तर्फबाट उद्धवप्रसाद गौतमले बागी उमेदवारी दिएका थिए । उनको उम्मेदवारीकै कारण एमाले पराजित हुन पुगेको थियो ।

हाल उनै गौतमले नेकपा एमालेको तर्फबाट यस वडाको सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् । वडामा गत निर्वाचनमा जस्तो आन्तरिक कहल नभएकाले एक ढिक्का भएर पार्टी अघि बढेको र विजय नजिक रहेको एमाले जीतपुरसिमरा २ वडा कमिटीका अध्यक्ष रविन्द्र खकुरेलले बताएका छन् । पछिल्लो कार्यकालमा सदस्यको रुपमा रहि रहदा सदैव क्रियाशिल भएर जनताको सेवा गरेको कारणले पनि श्रेष्ठ नेतृत्वको टिमलाई जनमत प्राप्त हुने खकुरेलको भनाई छ ।

यता माओबादी केन्द्र पनि घर दैलोमा व्यस्त छ । आफ्नो कार्यकालमा बिकास निर्माणका थुप्रै कार्यहरु भएकाले जनताले फेरी एक कार्यकालका लागि आफुहरुलाई नै विश्वास गर्ने वडाअध्यक्ष पदका उम्मेदवार श्रेष्ठले बताए ।

कांग्रेसले नेतृत्वमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । पछिल्लो समय जीतपुरसिमरा-२ का विभिन्न बिषयमा निरन्तर खबरदारी गर्दै आएका बिजय बोम्जनलाई कांग्रेसले अघि बढाएको छ । तर टिकट वितरण प्रति कांग्रेस भित्रै एक समुहले असन्तुष्टि जनाउदा यो निर्वाचन कांग्रेसका लागि कठिन हुने देखिएको छ ।

जनताले फ्रेस र केही काम गर्न सक्ने युवा खोजेकोले आफ्नो टिम कै बिजय सुनिश्चित रहेको बोम्जन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्