माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वस्तिक डोजाङलाई १३ पदक

सिमराः चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल १३ पदक जित्न सफल भएका छन्। काठमाडौंको दशरथ रंगशालामा आयोजित प्रतियोगितामा स्वस्तिकबाट सहभागी सबै खेलाडीले पदक जित्दै डोजाङका लागि शतप्रतिशत सफलता दिलाएका हुन्।
प्रतियोगिताअन्तर्गत १४ वर्ष मुनि एकल पुम्सेतर्फ सुमन तामाङले स्वर्ण पदक जिते भने महिलातर्फ युनिसा राना मगरले कास्य पदक हात पारिन्। १७ वर्ष मुनि पियर पुम्सेतर्फ एरिका माझी र आयुष मोतेको जोडीले रजत पदक जित्यो। १४ वर्ष मुनि पियर पुम्सेतर्फ सुमन तामाङ र युनिसा राना मगरको जोडीले पनि रजत पदक जित्न सफल भयो।
१४ वर्ष मुनिकै समूह पुम्सेतर्फ सुमन तामाङ, पल्सन दर्नाल र प्रधुम्न शाहको टोलीले रजत पदक जित्यो भने महिलातर्फ युनिसा राना मगर, अर्लीना चौधरी र लक्ष्मी न्यौपानेको टोलीले कास्य पदक प्राप्त गर्यो।
त्यसैगरी ५० वर्ष मुनि समूह पुम्सेतर्फ कमला गिरी शाहले स्वर्ण पदक जितिन्। एकल महिला पुम्सेतर्फ उनले कास्य पदक पनि हात पारिन्। प्रेमकुमार दर्नाल र शाहको जोडीले कास्य पदक जित्दा ५० वर्ष मुनिको समूह पुम्सेमा प्रेमकुमार दर्नालले रजत पदक जित्न सफल भए।

ग्योरुगी (फाइटिङ) तर्फ क्याडेट ५३ केजी मुनि तौल समूहमा कर्साङ तामाङले कास्य पदक जिते। जुनियर ७८ केजीभन्दा माथि तौल समूहमा अंकित जंग थापाले कास्य पदक जित्दा ७८ केजी मुनि तौल समूहमा शिवम खत्रीले पनि कास्य पदक हात पारे।
डोजाङले कुल २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक जितेको छ। छोटो समयमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दै आएको डोजाङको सफलताप्रति प्रशिक्षक प्रेमकुमार दर्नालले खुसी व्यक्त गरेका छन्।





