साम्बाको उपचारमा भायानेटले पाँच लाख सहयोग गर्ने


eShilalekh

१२ फाल्गुन २०८२, मंगलवार २०:१४

सिमराः भायानेट कम्युनिकेशन प्रालिले आफ्नी ब्रान्ड एम्बासडर तथा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पाँच लाख सहयोग गर्ने घोषणा गरेको छ।

‘साम्बाको दमदार पुनरागमनका लागि भायानेटको साथ’ भन्ने सन्देशसहित कम्पनीले साम्बाको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा साथ दिने प्रतिबद्धता जनाएको हो।

देशको शान र लाखौँ युवाको प्रेरणाको स्रोत साम्बाको संघर्ष र समर्पणलाई सम्मान गर्दै स्वास्थ्य लाभको प्रत्येक यात्रामा सधैं साथ रहने भायानेटले जनाएको छ। कम्पनीले साम्बाको अदम्य आत्मबल, ऊर्जा र जोश चाँडै नै फेरि मैदानमा चम्किने विश्वास व्यक्त गरेको छ।

यसैबीच साम्बाले आफ्नो उपचारका लागि सर्वसाधारणबाट उल्लेखनीय सहयोग जुटेको जानकारी गराएकी छन्। खुट्टामा लागेको चोटको उपचारका लागि आर्थिक सहयोग अपिल गरेपछि पछिल्लो २४ घन्टामै करिब एक करोड ४५ लाख रुपैयाँ संकलन भएको उनले उल्लेख गरेकी हुन्। अब आफ्नो खातामा थप सहयोग नगर्न अपिल गर्दै उनले सबै सहयोगीप्रति आभार व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन् ‘आर्थिक रुपमा यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्नेछु। खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरि एकपटक हृदयदेखि बुझेको छु। यही नै मेरो वास्तविक कमाइ हो।’

साम्बाको स्वास्थ्य लाभ र पुनरागमन यात्राका लागि यतिबेला देशविदेशबाट शुभेच्छा र समर्थन निरन्तर आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्