अख्तियारले मौखिक जानकारी लिन मात्रै बोलाएको थियो: अधिवक्ता पौडेल


eShilalekh

२० बैशाख २०७९, मंगलवार १७:४९

सिमरा: अधिवक्ता एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका कानुनी सल्लाहकार दामोदर पौडेलले नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार रहेकी सरस्वती चौधरीलाई अख्तियारको पत्रसंग जोडेर सामाजिक संजालमा भईरहेको टिकाटिप्पणीमा कुनै सत्यता नरहेको बताएका छन् ।

सात महिना अघि चौधरी उपप्रमुख रहेका बेला अख्तियारले नदिजन्य पदार्थ विक्री सम्बन्धमा जानकारी लिनका लागि कार्यालयका कर्मचारी समेतलाई पत्रमार्फत बोलाएको विषयलाई लिएर सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेपछि अधिवक्ता पौडेलले उक्त कुरामा कुनै सत्यता नरहेको बताए ।

चौधरीसहित अख्तियारको कार्यालयमा पुगेका अधिवक्ता पौडेलले सामान्य मौखिक जानकारी लिनका लागि मात्रै बोलाएको बताए । ‘अख्तियारले जानकारी लिनका लागि पत्रमार्फत बोलाएको रहेछ, म पनि गएको थिए’ अधिवक्ता पौडेलले भने ‘त्यहाँ गएर मौखिक रुपमा सामान्य जानकारी लिने काम भयो । बयान, सहिछाप कतै केही गराएको होईन् । जनतालाई भ्रमित पार्ने काम कसैले गर्नुहुदैन् ।’

उक्त पत्र सामाजिक संजालमा राखेर भष्ट्राचार गरेको आरोप लगाइएको छ भन्ने प्रश्नमा अधिवक्ता पौडेलले चुनावको समयमा त्यस्तो विषय ल्याउनु गलत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्