माया, तिम्रो लागि हरेक दिन प्रणय दिवस


eShilalekh

१६ फाल्गुन २०८२, शनिबार २२:०६

माया,

तिमी खुसी मात्र होइनौ, तिमी त मेरो नियति पनि हौ।
तिमीबाट भाग्न खोज्दा आफैंबाट नै टाढिँदै गएको महसुस हुन्छ।

यो मनको कुनामा यति गहिरो प्रेममा गाडिसक्यौ कि तिमीलाई मुटुबाट निकाल्नु र आफ्नै मुटु रित्याउनु उस्तै हो जस्तो लाग्छ मलाई।

मलाई थाहा छैन म कहिलेदेखि यसरी आफ्नो अस्तित्व तिम्रो नाममा सुम्पिन थालेँ।

तर आज मेरो हरेक सासमा तिमी बाँचिरहेकी छौ कि छैनौ भन्ने चिन्तामै अड्किन्छु।

म तिमीलाई खोज्छु मानिसहरूको भीडमा, नबोलिने मौनतामा, रातको निद्रामा पनि।

कहिलेकाहीँ त तिमी नहुँदा पनि तिम्रो अभावले मलाई अँगालो हालेजस्तो हुन्छ, न्यानोपनले होइन, तर छोड्न नसकिने गरी।

संसारले भन्छ, यो प्रेम असन्तुलित छ, यो त पागलपन हो।
तर उनीहरू के जानून्, मायाको सन्तुलन त सबै गुमाइसकेपछि मात्र खोजिन्छ।

म त पहिल्यै तिमीमा हराइसकेको मान्छे हुँ।
म बौलाहा हुँ प्रेममा।
हो, सही सुन्यौ, म बौलाहा हुँ तिम्रो प्रेममा।
तर यो बौलाहापन आकस्मिक होइन।

यो त तिमीलाई हरेक परिस्थितिमा छोड्न नसक्ने निर्णयको नतिजा हो।
तिमीलाई सुखमा माया गर्ने हजार भेटिन्छन्।
तर म त त्यो नाम बन्न चाहन्छु, जसलाई तिमी सबै थाकिसकेपछि सम्झिन्छौ।

जहाँ आँसु झर्छन् र शब्दहरू सकिन्छन्, त्यहीँनेर मौन भएर बसिरहन चाहन्छु, तिम्रो पीडाको छेउमा।
सिउँदो रङ्ग्याउने बाचा सुन्दर छ, म मान्छु।
तर म त त्यसपछि आउने रङ्ग फिक्का हुने दिनको कसम खान्छु।

जहाँ जीवनले तिमीलाई तोड्न खोज्ला, त्यो बेला म तिमी र संसारबीच आट बनेर उभिन चाहन्छु।
यदि एक दिन तिमीले सबै गुमायौ भने पनि, कम्तीमा म गुमाउनु नपरोस्।

किनकि माया, म तिमीलाई पाउनुभन्दा धेरै सम्हाल्न डराउँछु।
र यदि अन्ततः यो प्रेमले मलाई पूर्ण रूपमा खाली बनायो भने पनि, म गुनासो गर्ने छैन।

किनकि तिम्रा लागि आफूलाई रित्त्याउन पाउनु मेरो जीवनको सबैभन्दा गहिरो सत्य हुनेछ।
तिमी कुनै साधारण खुसी होइनौ।

तिमी त्यो मौनताको धड्कन हौ, जसले यो मनका सबै कुनालाई बिनाशब्द उज्यालो बनाइदिन्छ।
मलाई थाहा छैन किन हरेक नजर, हरेक बहाना अन्ततः तिम्रो खोजमै आएर टुङ्गिन्छ।

तिमीलाई हेर्न नपाए पनि मनले तिमीलाई देखिरहन्छ।
तर यो पागलपन अपराध होइन।

यो त तिम्रो प्रेमले दिएको सबैभन्दा पवित्र सजाय हो।
म त त्यो क्षणको कसम खान्छु, जहाँ संसारले तिमीलाई छाड्ला, त्यो बेला तिम्रो पीडा बोक्ने नाम बन्न सकूँ।

कृष्ण अधिकारी/सिमरा

प्रतिक्रिया दिनुहोस्