प्रधानमन्त्री कपका लागि अनिलको कप्तानीमा मधेस प्रदेशको टोली घोषणा


eShilalekh

५ चैत्र २०८२, बिहीबार १८:४१

सिमरा: चैत ७ गतेदेखि सुरु हुन लागेको ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’ का लागि मधेस प्रदेश क्रिकेट संघले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरेको छ। संघले राष्ट्रिय टोलीका खेलाडी अनिल साहलाई टोलीको कप्तानी सुम्पिएको छ।

बारा, पर्सा र सप्तरीमा तीन चरणमा सञ्चालन गरिएको विशेष छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेटेर टोली तयार पारिएको मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।

मधेस प्रदेशको १५ सदस्यीय टोली:

अनिल साह, कप्तान (बारा) , पवन सर्राफ (बारा), आदिल अंसारी (बारा), अरनिको यादव (बारा), निरज यादव (बारा), रञ्जित कुमार (पर्सा), महमद समीर (पर्सा), हिमांशु दत्त (धनुषा), मयन यादव (धनुषा), बिशाल सुस्लिङ (धनुषा), रुपेश सिंह (सिरहा), प्रदीप पासवान (सिरहा), अभिशेक तिवारी (महोत्तरी), बिशाल पटेल (सर्लाही) र आशिक बैठा (रौतहट)।

टोलीमा बाराका ५, धनुषाका ३, पर्साका २, सिरहाका २ तथा महोत्तरी, सर्लाही र रौतहटका १–१ जना खेलाडी परेका छन्।

प्रतियोगिताको तालिका र स्थान:

यस पटकको प्रधानमन्त्री कप मधेस प्रदेशका विभिन्न रंगशालाहरूमा समेत आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल जनकपुरस्थित रामजानकी रंगशालामा हुनेछ, जहाँ आयोजक मधेस प्रदेशले कोशी प्रदेशको सामना गर्नेछ। सोही दिन वीरगञ्जको नारायणी रंगशालामा लुम्बिनी र कर्णाली प्रदेशबीच पनि प्रतिस्पर्धा हुनेछ।

तीन रंगशाला, ४६ खेल:

वीरगञ्ज (नारायणी रंगशाला): फाइनलसहित १९ खेल, जनकपुर (रामजानकी रंगशाला): १७ खेल, काठमाडौं (मुलपानी मैदान): १० खेल

आईसीसी विश्वकप लिग २ को तयारीका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (कीर्तिपुर) मा भने यसपटक कुनै पनि खेल हुने छैनन्।

सहभागी टोलीहरू:

झण्डै एक महिना चल्ने यस प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपीएफ र सात प्रदेशका टोली गरी कुल १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। साविक विजेता नेपाल पुलिस क्लब यसपटक पनि मुख्य दाबेदारका रूपमा मैदान उत्रिनेछ।

प्रतिक्रिया दिनुहोस्