वर्षाले रोक्यो प्रधानमन्त्री कप: कर्णाली र लुम्बिनीबीचको खेल अवरुद्ध, उद्घाटनसमेत प्रभावित

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ।
वीरगन्जस्थित नारायणी रंगशाला मा सुरु भएको एकदिवसीय खेल पानी परेपछि रोकिएको हो। वर्षा सुरु हुनुअघि कर्णालीले ब्याटिङ गर्दै ७ ओभरमा २० रन बनाएको थियो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ तथा सुनिल धमला ७ रनमा क्रिजमा थिए।
लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिँदा राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन दिएका थिए। यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।
यसैबीच वर्षाकै कारण जनकपुरस्थित रामजानकी रंगशाला मा हुने कोशी र मधेस प्रदेशबीचको खेल पनि प्रभावित बनेको छ। त्यहाँ प्रतियोगिताको उद्घाटन समारोहसमेत प्रभावित भएको नेपाल क्रिकेट संघ (क्यान) मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।
यस संस्करणको प्रधानमन्त्री कप मधेस प्रदेशका दुई रंगशाला र काठमाडौंका तल्लो तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताअन्तर्गत १९ खेल वीरगन्जमा, १७ खेल जनकपुरमा र बाँकी १० खेल मुलपानीमा हुने तालिका छ।
आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा यस पटक कुनै पनि खेल राखिएको छैन। क्यानले त्यहाँका सबै खेल मुलपानीमा सारिएको जनाएको छ।
करिब एक महिना सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको साविक विजेता टोली नेपाल पुलिस क्लब हो।






