प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमविरुद्ध कर्णाली दबाबमा, लुम्बिनीको राम्रो सुरुवात


eShilalekh

९ चैत्र २०८२, सोमबार १०:३४

वीरगन्ज: वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेलमा कर्णाली दबाबमा देखिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले १७ ओभरमा ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ।

कर्णालीका ओपनर सुनिल धमलाले ३१ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। अर्का ओपनर रवीन्द्र शाही भने पहिलो ओभरमै डकआउट भए। सुदूरपश्चिमका हेमन्त धामीले पहिलो ओभरमै विकेट लिँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

त्यसपछि नारायण जोशीको बलमा सुनिल आउट हुँदा कर्णाली थप दबाबमा पर्‍यो। अरविन्द घर्तीले ४३ बल खेल्दै १३ रन बनाए पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन्। उनी अशोक धामीको बलमा आउट भए। ५५ रनमा ३ विकेट गुमाएपछि कर्णालीको ब्याटिङ दबाबमा परेको छ।

उता जनकपुरस्थित रामजानकी रंगशालामा लुम्बिनी प्रदेश र कोशी प्रदेशबीचको खेलमा लुम्बिनीले राम्रो सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा आएको लुम्बिनीले ११ ओभरमा बिना कुनै क्षति ७५ रन बनाएको छ।

लुम्बिनीका कप्तान देव खनाल ३८ रन र रञ्जित खड्का ३३ रन बनाएर अविजित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्