प्रधानमन्त्री कप क्रिकेटः हेमन्त धामीको घातक बलिङमा ११९ रनमा समेटियो कर्णाली

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्जस्थित नारायणी रंगशालामा जारी खेलमा सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले घातक बलिङ गर्दै कर्णाली प्रदेशको ब्याटिङ लाइनअप ध्वस्त पारेका छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेश ३२ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको सामान्य स्कोरमा समेटिएको छ। सुदूरपश्चिमका धामीले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा मात्र १६ रन खर्चेर महत्वपूर्ण ६ विकेट लिए।
उनले खेलको पहिलो ओभरमै कर्णालीका ओपनर रवीन्द्र शाहीलाई डकआउट गर्दै सुदूरपश्चिमलाई सफलता दिलाएका थिए। त्यसपछि उनले अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी, विपिन रावल र दिवन पुनको विकेट लिएर कर्णालीलाई दबाबमा राखे।
कर्णालीका लागि ओपनर विपिन रावलले ३३, सुनिल धमलाले २८ र अरविन्द घर्तीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान १-१ विकेट लिए।
सुदूरपश्चिमको जवाफी ब्याटिङ
१२० रनको सामान्य लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले यो समाचार तयार पार्दासम्म ९ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाएको छ । सुदूरपश्चिमका ओपनर राजु रिजाल ७ र अभिषेक पाल ६ रन बनाएर आउट भएका छन्। दुवै विकेट कर्णालीका बलर अनुज चनराले लिएका हुन्। क्रिजमा अहिले खडक बोहोरा र नरेन भट्ट ब्याटिङ गरिरहेका छन्।






