प्रधानमन्त्री कप क्रिकेट: हेमन्त धामीको घातक बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

वीरगन्ज: तीव्र गतिका बलर हेमन्त धामीको उत्कृष्ट प्रदर्शनको मद्दतले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो दुई अंक जोडेको हो।
सुदूरपश्चिमको जितका मुख्य नायक हेमन्त धामी रहे। उनले कर्णालीको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा मात्र ७ ओभर बलिङ गर्दै १६ रन खर्चेर महत्वपूर्ण ६ विकेट लिए। उनको सटिक र घातक बलिङसामु टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमै समेटिएको थियो।
कर्णालीका लागि विपिन रावलले ३३ र सुनिल धमलाले २३ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। पहिलो ओभरमै ओपनर रवीन्द्र शाहीलाई गुमाएको कर्णालीलाई धामीले लगातार दबाबमा राखेका थिए। सुदूरपश्चिमका लागि शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान १–१ विकेट लिए।
१२० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात पनि केही धरमराएको थियो। तर मध्यक्रमका ब्याटरहरूको संयमित प्रदर्शनले २९.२ ओभरमा ६ विकेट गुमाउँदै सुदूरपश्चिमले लक्ष्य पूरा गर्यो।
सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले २६ र खडक बोहराले २३ रनको योगदान दिए। अन्त्यमा मिलन बोहरा १८ रन र शेर मल्ल १० रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए। कर्णालीका बलर अनुज चनरा र दिवन पुनले २–२ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।
उत्कृष्ट बलिङ गरेका हेमन्त धामी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। यो जितसँगै सुदूरपश्चिमले पहिलो खेलबाटै २ अंक बटुलेको छ। यसअघि शनिबार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १–१ अंक बाडेको थियो ।






