जीतपुरसिमरा ७ मा एमाले उम्मेदवार गुप्ताको चुनावी घरदैलो, चुनाव जित्नेमा ढुक्क


eShilalekh

२२ बैशाख २०७९, बिहीबार २०:१९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका सुनिल गुप्ताले चुनाव प्रचार अभियानलाई तिब्र पारेका छन् । मनोनयन दर्तासंगै चुनाव प्रचारमा जुटेका गुप्ताले विहिवार घरदैलो सम्पन्न गरेका हुन् ।

घरदैलोमा नगर प्रमुख उम्मेदवार सरस्वती देवी चौधरी, उपप्रमुख उम्मेदवार भोलाप्रसाद अधिकारी, वडाध्यक्ष उम्मेदवार गुप्तासहित एमालेका नेताकार्यकर्ता सहभागी थिए । घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता रहेको गुप्ताले बताएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामबाबु गुप्तासंग २५ मतले पराजित गुप्तालाई एमालेले दोस्रो पटक अवसर दिएको हो । गुप्ता उक्त वडाको बलियो उम्मेदवारका रुपमा देखिएका छन् ।

एमालेको पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका गुप्ताले यसपटक आफूले चुनाव जित्ने दावी गरेका छन् । ‘वडाबासीको साथ अघिल्लो वर्ष पनि पाएको थिए, प्राविधिक कारणले पराजित भए’ गुप्ताले ईशिलालेखसंग भने ‘यसपटक पनि उस्तै साथ र सहयोग छ । चुनाव जित्नेमा ढुक्क छु ।’

एमालेले उक्त वडामा नविन मैनाली, नुरुल्लाह अंसारी, सिता उप्रेती र ललिता देवी पासवानलाई उम्मेदवार बनाएको छ । तीन वटा मतदान केन्द्र रहेको उक्त वडामा पाँच हजार एक सय दुई मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्