भुइँतहबाट संसद्सम्म: चन्देश्वर मण्डलको संघर्षमय यात्रा

सिरहाः सिरहाको अर्नामा गाउँपालिकास्थित लक्ष्मीपुर गाउँको एउटा सामान्य परिवारमा २०२१ सालमा जन्मिएका चन्देश्वर मण्डलको बाल्यकाल अन्य युवाको जस्तै अभाव र सम्भावनाको बीचमा बित्यो । तर उनको सोच भने गाउँको सीमाभित्र मात्र सीमित थिएन ।
विज्ञान संकायमा स्नातक गर्दै गर्दा उनी नेकपा एमालेको विचारप्रति आकर्षित भए। उक्त समयमा मधेसमा कम्युनिष्ट राजनीति गर्नु चुनौतीपूर्ण थियो । तर मण्डलले संगठन विस्तारलाई नै आफ्नो जीवनको लक्ष्य बनाए। उनको सक्रियताको पहिलो ठूलो प्रतिफल २०४९ सालमा देखियो जब उनी साविक गौरिपुर गाविसको अध्यक्ष निर्वाचित भए।
जनताको मन जितेकै कारण उनले २०५४ मा पुनः दोस्रो कार्यकालका लागि सोही पदमा विजय हासिल गरे। यो १० वर्षको अवधिले उनलाई स्थानीय विकासको ‘मोडल’ र जनमुखी नेताका रूपमा स्थापित गर्यो। २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनले पराजय भोगेका थिए ।
चन्देश्वरको पहिचान राजनीतिमा मात्र सीमित रहेन। उनले केही समय शिक्षकका रूपमा ज्ञान बाँडे भने सामाजिक सेवाको भोकले उनलाई नेपाल रेडक्रस सोसाइटीसम्म पुर्यायो। उनले ५ वर्ष रेडक्रस सिरहाको उपसभापति, ५ वर्ष मधेस प्रदेश रेडक्रसको महासचिव रहेर काम गरे ।
विपद् व्यवस्थापन र रक्तसञ्चार सेवामा उनले गरेको योगदानले गर्दा उनलाई राजनीतिक कार्यकर्ताले मात्र होइन, आम नागरिकले पनि ‘संकटको साथी’ का रूपमा चिन्न थाले।
मण्डलले पार्टीमा कहिल्यै पदको लागि हतार गरेनन्। २०७४ सालमा सिरहा जिल्ला अध्यक्ष बनेका उनले संगठनलाई बलियो बनाएको परिणाम स्वरूप २०८० सालमा एमालेले उनलाई मधेस प्रदेश अध्यक्षको जिम्मेवारी सुम्पियो।
लामो समयको धैर्यता र इमान्दारिताको फल तब मिल्यो, जब नेकपा एमालेले उनलाई समानुपातिक निर्वाचन प्रणालीमार्फत मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य (सांसद) बनाउने निर्णय गर्यो। उनै मण्डल भुइँतहबाट संसद्सम्म पुगेका छन् ।





