प्रधानमन्त्री कप क्रिकेट: मधेसद्वारा सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेसले ३३.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
मधेसको जितमा अरनिको यादवले अविजित ४६ रनको उत्कृष्ट पारी खेले। ७८ बलको सामना गरेका उनले ९ चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए । आदिल अंसारीले ३४ रन र पवन सर्राफले २१ रनको योगदान दिए।
ओपनरद्वय कप्तान अनिल साह र मयन यादव १३/१३ रनमै आउट भएपछि दबाबमा परेको मधेसलाई आदिल र पवनले सम्हालेका थिए। पवन २१ रनमा अशोक धामीको बलमा आउट भएपछि क्रिजमा आएका अरनिकोले अन्त्यसम्म खेल सम्हाल्दै जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शनका लागि अरनिको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै पाँच हजार रुपैयाँ नगदबाट पुरस्कृत भए। सुदूरपश्चिमका लागि अशोक धामीले तीन तथा शेर मल्लले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो। ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए भने किरण ठगुन्ना र नारायण जोशीले समान २३/२३ रन जोडे। अशोक धामीले १९ रन बनाए पनि अन्य ब्याटरले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
मधेसका लागि अरनिको यादवले तीन विकेट लिए भने प्रदीप पासवानले दुई विकेट हात पारे। रुपेश सिंह, आदिल आलम, पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक–एक विकेट लिएका थिए ।





