प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिस क्लब सात विकेटले बिजयी

सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार माथिल्लो मूलपानी मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
पुलिसले बागमतीद्धारा प्रस्तुत २६६ रनको लक्ष्य ४४ ओभरमा पूरा गर्यो । पुलिसको जितमा शंकर रानाले शतकीय पारी खेले । प्लेयर अफ दि म्याच घोषित रानाले १२८ बलमा १३ चौका र एक छक्का प्रहार गरे । यसैगरी दिनेश खरेलले ७० र कप्तान आरिफ शेखले अविजित ४३ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछाने, रिजन ढकाल र सुवास खत्रीले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४९.२ ओभरमा २६५ रन बनाएको थियो । बागमतीका लागि पवन थापाले ७९ र इशान पाण्डेले ७० रन जोडेका थिए । यसैगरी ओपनर आशुतोष घिरैयाले २२ रन बनाएका थिए ।
पुलिसका बलर दिनेश खरेल र रसिद खानले ३–३ विकेट लिए भने करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए ।





