प्रधानमन्त्री कप क्रिकेटः कोशीविरुद्ध सुदूरपश्चिम सात विकेटले विजयी

सिमरा: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा भएको खेलमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो। कोशीका लागि शिवांश बजगाईंले २५ रन बनाउँदा सुमन श्रेष्ठले २४, दीपेश कंडेलले २०, फिद्रोश अन्सारीले १८ तथा सकिब हकले १५ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
कोशीलाई सस्तो स्कोरमै समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामी चम्किए। उनले ९ ओभरमा २६ रन खर्चेर चार विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि धामी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनले तीन खेलमा १० विकेट लिइसकेका छन्। यसअघि कर्णालीविरुद्धको खेलमा उनले एक्लैले ६ विकेट लिएका थिए। यसैगरी सुदूरपश्चिमका किरण ठगुन्नाले दुई विकेट लिए भने नारायण जोशी र सौर्य श्रेष्ठले समान एक–एक विकेट हात पारे।
१३१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ओपनर अभिषेक पाल र प्रकाश पाण्डे सस्तैमा आउट भए पनि खड्क बोहोराको अर्धशतकीय इनिङ्सले टोलीलाई सहज जित दिलायो। बोहोराले ६६ रन बनाउँदा किरण ठगुन्ना २५ रनमा अविजित रहे। कोशीका लागि विपिन महतोले दुई विकेट लिए भने ज्ञानेन्द्र श्रेष्ठले एक विकेट हात पारे।
जारी प्रतियोगितामा चार खेल खेलेको कोशीको यो लगातार तेस्रो हार हो। यसअघि कोशी कर्णालीसँग १६ रन र लुम्बिनीसंग १४८ रनले पराजित भएको थियो। पहिलो खेल वर्षाका कारण अवरुद्ध भएपछि कोशीले मधेस प्रदेशसंग अंक बाँडेको थियो।





