प्रधानमन्त्री कप: लुम्बिनीमाथि सुदूरपश्चिमको रोमाञ्चक जित


eShilalekh

१६ चैत्र २०८२, सोमबार १७:३५

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।

वीरगन्जस्थित नारायणी रंगशालामा भएको खेलमा १६९ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीलाई सुदूरपश्चिमले १५६ रनमा समेट्दै महत्वपूर्ण अंक बटुलेको हो।

लुम्बिनीका लागि सन्तोष यादवले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। पहिले बलिङमा ४ विकेट लिएका सन्तोषले ब्याटिङमा पनि ८४ बलमा ६७ रनको शानदार इनिङ खेलेका थिए।

१६ रनमै दुवै ओपनर गुमाएर दबाबमा परेको लुम्बिनीलाई सन्तोषले जितको नजिक पुर्‍याएका थिए। तर ४०औं ओभरमा सुदूरपश्चिमका खड्क बोहोराले सन्तोषलाई बोल्ड गरेपछि लुम्बिनीको आश मरेको थियो। त्यसको अर्को बलमा अजय चौहानलाई शून्यमै आउट गर्दै बोहोराले सुदूरपश्चिमको जित पक्का गरे।

सुदूरपश्चिमका बलर खड्क बोहोराले ५.२ ओभरमा १३ रन खर्चिदै तीन विकेट लिए । कप्तान शेर मल्लले पनि तीन विकेट चट्काए । हेमन्त धामीले दुई विकेट लिँदा नारायण जोशी र लोकेन्द्र चन्दले समान १–१ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । सुदूरपश्चिमका लागि दीपक बोहोराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, खड्क बोहोरा र सौर्य श्रेष्ठले समान १०–१० रन बनाए ।

लुम्बिनीका बलरहरू सन्तोष यादव र अजय चौहानले समान ४–४ विकेट लिएका थिए। यो जितसँगै ४ खेलबाट ६ अंक जोड्दै सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता समान खेल खेलेको लुम्बिनी ३ अंकका साथ पाँचौ स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्