प्रधानमन्त्री कप क्रिकेटः पुलिसले चार ओभरमै गुमायो तीन विकेट

वीरगन्जः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार जारी खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई एक सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी प्रतियोगिता टस हारेर ब्याटिङ गरेको कोशीले ४३.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन जोडेको हो ।
कोशीका लागि कप्तान सुजन थपलियाले ४८, ओपनर सुमन श्रेष्ठले ४३, अंकित सुवेदीले २६, शिवांश बजगाईंले १५ रन बनाए । कोशी अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोशीलाई मध्यम योगफलमा रोक्ने क्रममा पुलिसका दिनेश खरेल एक्लैले पाँच विकेट लिए । खरेलले सोनु अंसारी, समिर कार्की, प्रेम कामत, शिवांश बजगाईं र विपिन महतोको विकेट लिँदै फाइफर पूरा गरे । यसैगरी ललित राजवंशी र सागर ढकालले समान दुई/दुई विकेट लिए ।
कोशीले दिएको लक्ष्य पछ्याउन पुलिसले दोस्रो इनिङ सुरु गरेको छ । यो समाचार तयार पार्दासम्म पुलिसले चार ओभरमा तीन विकेट गुमाएर दुई रन जोडेको छ । पुलिसका दिनेश खरेल, शंकर राना र अमित श्रेष्ठ आउट भएका छन् ।
जारी प्रतियोगितामा पुलिसले वीरगन्जमा खेलेको यो पहिलो खेल हो । प्रतियोगितामा पाचौं खेल खेल्दै गरेको पुलिसले यसअघि काठमाडौंस्थित माथिल्लो मुलपानी मैदानमा तीन र तल्लो मुलपानी मैदानमा एक खेल खेलेको थियो । पुलिस पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ ।
पहिलो खेलमा त्रिभूवन आर्मीसँग २२ रनले पराजित भएको पुलिसले दोस्रो खेलमा नेपाल एपीएफ क्लबलाई एक सय ८५ रन र तेस्रो खेलमा बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । चौथो खेलमा भने वर्षा बाधक बनेपछि पुलिसले गण्डकीसँग अंक बाँडेको थियो ।
यता पाचौं खेल खेल्दै गरेको कोशीले कुनै पनि खेल जित्न सकेको छैन । पहिलो खेलमा वर्षा बाधक भएपछि मधेससँग अंक बाँडेको कोशीले त्यसयताका सबै खेलमा पराजय व्यहोरेको छ । कोशीले दोस्रो खेलमा लुम्बिनीसंग एक सय ४८ रन, तेस्रो खेलमा कर्णालीसँग १६ रन र चौथो खेलमा सुदूरपश्चिमसँग सात विकेटको हार व्यहोरेको थियो । कोशी अंकतालिकाको अन्तिममा छ ।
नेपाल क्रिकेट संघको आयोजनामा चैत ७ गतेदेखि जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट चार टोली आगामी जय ट्रफीका लागि छनौट हुनेछन् ।





