जीतपुरसिमरा क्रिकेट कपलाई जनकपुर बोल्ट्सको साथ, जग्गा पाए रंगशाला बनाउने सिग्देलको उद्घोष

सिमरा: सिमरामा आयोजना हुने जीतपुरसिमरा क्रिकेट कपले नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको साथ पाएको छ । जीतपुरसिमरा स्पोर्ट्स क्लबले आगामी चैत २१ गतेदेखि आयोजना गर्न लागेको प्रतियोगितामा जनकपुर बोल्ट्स पनि जोडिएको हो ।
सिमरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले आयोजक क्लब र खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरे। जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै महेश सिग्देलले नेपालमा क्रिकेटको विकासले राष्ट्रिय सद्भाव र देशको उन्नतिमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
‘यदि स्थानीय सरकारले उपयुक्त जग्गा उपलब्ध गराउँछ भने, जनकपुर बोल्ट्स र यसको लगानीकर्ता समूह (ड्रिम स्पोर्ट्स) सिमरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिदिन तयार छ’ सिग्देलले भने । उनले आगामी दिनमा जीतपुरसिमरा क्रिकेट कपलाई अझ भव्य र नतिजामूलक बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देल हाल ‘इयू टी–२० लिग’का लागि बेल्जियममा छन्। जनकपुर बोल्ट्सको लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सले बेल्जियमको जेबि ब्रुज क्लबको समेत स्वामित्व लिएको छ । जसले नेपालका आठ क्रिकेटरलाई युरोपियन लिग खेल्ने अवसर समेत प्राप्त गरेको छ । उत्सवकै कारण नेपालका आठ जना खेलाडी इयू टी–२० का विभिन्न फ्रेन्चाईज टोलीमा आवद्ध भएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सको सहयोगको प्रशंसा गर्दै रंगशालाका लागि जग्गा र अन्य पूर्वाधारको विषयमा नगरले आवश्यक छलफल गर्ने बताए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशराज केसी, नेपाली कांग्रेसका छविलाल शर्मा, नेकपा एमालेका त्रिलोक विक्रम शाह र नेपाली कम्युनिष्ट पार्टीका प्रेम बराल लगायतका स्थानीय नेताहरूले प्रतियोगिताको सफलताका लागि ऐक्यवद्धता जनाएका थिए ।

प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन जिल्लाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । अघिल्लो संस्करणमा भन्दा पुरस्कार राशी यसपटक बढाइएको हो । अघिल्लो संस्करणमा विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य सहयोगीको रुपमा सहयोग गर्नेछ ।
पत्रकार सम्मेलनको सहजीकरण सचिव सुशान्त शाहले गरेका थिए भने प्रतियोगिताको उदेश्यबारे उपाध्यक्ष समिन विष्टले प्रकाश पारेका थिए ।





