जीतपुरसिमरामा बैशाख २७ गतेदेखि मतदाता परिचय पत्र वितरण गर्छौः सहायक निर्वाचन अधिकृत


eShilalekh

२३ बैशाख २०७९, शुक्रबार १०:३५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले बैशाख २७ गते देखी मतदाता परिचय पत्र वितरण हुने जनाएको छ ।

मतदाता नामावलीमा नाम रहेर परिचय पत्र नपाएका मतदातालाई मतदान केन्द्रबाटै परिचय पत्र वितरण गरिने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिए । तोकिएका कर्मचारी २७ गतेदेखि मतदान केन्द्रमा खटिने र सोही स्थानमा परिचय पत्र वितरणको काम गरिने खड्काले बताएका छन् ।

‘मतदान केन्द्रमा कर्मचारी खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम तयारी गर्दैछ’ खड्काले ईशिलालेखसंग भने ‘सोही अनुसार खटिने कर्मचारीले बैशाख २७ र २८ गते परिचय पत्र वितरण गर्नुहुनेछ ।’ मतदाता परिचय पत्र नभएका मतदाताले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा निर्वाचन आयोगले हालसम्म निर्णय नगरेको खड्काको भनाई छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा मतदानको एक दिन अगाडी नागरिकताकै आधारमा मतदान गर्न सकिने आयोगले निर्णय गरेको बताउदै खड्काले सम्भवत यसपटक पनि त्यसैअनुसार निर्णय हुनसक्ने बताएका छन् ।

मतदान केन्द्रको तयारी
सहायक निर्वाचन अधिकृत खड्काले निर्वाचनको अन्तिम तयारीमा आफुहरु जुटेको बताए । उपमहानगरपालिका भित्र रहेको ८९ वटा मतदान केन्द्रको अनुगमन गर्ने र त्यसको व्यवस्थापन गर्ने काम भएको बताउदै खड्काले हाल मतगणना स्थलको व्यवस्थित गर्ने काम सुरु गर्न लागिएको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवनलाई मतगणना स्थलको तोकेर पठाएको छ । तोकिएको मतगणना स्थललाई राजनीतिक दलका प्रतिनिधि बसेर निर्णय गर्ने खड्काले जानकारी दिए ।

आचारसंहिता र मौन अवधी पालना
सहायक निर्वाचन अधिकृत खड्काले निर्वाचन आचारसंहिता पालनाका लागि राजनितिक दलका उम्मेदवारलाई पत्रमार्फत ध्यानाकर्षण गराउने काम गरिएको बताए ।

निर्वाचन नजिकिएसंगै आचारसंहिता उलंघनका घटना हुनसक्ने भएकाले राजनितिक दल र उम्मेदवारले आचारसंहिता पालना गर्नका निम्ति गम्भिर हुनुपर्ने गरी आफूहरुले काम गरिरहेको खड्काले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले मौनअवधीको समयमा बैशाख २७ गते राती १२ बजेदेखी ४८ घण्टासम्म मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने गरी समन्वय गरिरहेको खड्काले बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ र जीतपुरसिमरा उद्योग वाणिज्य संघसंग समन्वय गरेर मौन अवधीभरी होटल तथा अन्य पसलबाट मदिराजन्य पदार्थ विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने गरी छलफल भईरहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्