प्रधानमन्त्री कप क्रिकेट: एपीएफ १० विकेटले बिजयी

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले १० विकेटको जित हात पारेको छ । कर्णालीले दिएको १०८ रनको लक्ष्य १२ ओभरमा पूरा गर्दै एपीएफले फराकिलो जित हात पारेको हो ।
एपीएफको जितमा विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले अर्धशतक पूरा गरे । आशिफले ३८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ६५ रन बनाए । यसैगरी अर्का ओपनर दीपक बोहराले ४२ रन जोडे ।
यसअघि जनकपुरधामस्थित रामजानकी मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाएर १०७ रन जोडेको थियो ।
कर्णालीका लागि विकेट किपर ब्याट्सम्यान अर्जुन घर्तीले अविजित रहँदै सर्वाधिक ३८ रन बनाएका थिए। ७३ बल खेलेका अर्जुनले तीन चौका प्रहार गरे । दीपेन्द्र रावतले २५, ओपनर रवीन्द्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाउँदा अरु ब्याटर चलेनन् । निश्चल रावल र विपिन रावल शून्यमै पेभेलियन फर्किए भने बिपिन शाहीले एक रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरी र अभिषेक गौतमले समान चार/चार विकेट लिए । कप्तान रोहित पौडेलले एक विकेट हात पारे । अभिषेक गौतम प्लेयर अफ दि म्याच घोषित भए ।
जितसँगै एपीएफ पाँच अंकसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ। कर्णाली भने तीन अंकसहित आठौं स्थानमा कायम छ।





