प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी बिजयी, पुलिस स्तब्ध

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा रञ्जित खड्काको शानदार शतकको मद्दतले लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ। नारायणी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिस २०६ रनमै समेटियो।
लक्ष्य पछ्याउने क्रममा पुलिसका ओपनर दिनेश खरेलले उत्कृष्ट ९४ रनको इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले १०४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै शतक नजिक पुगेका थिए । तर ३२औँ ओभरमा देव खनालको बलमा आउट भए। सरवन यादवले ३६, दिलसाद अलीले २२, करण केसीले १४ र शंकर रानाले १२ रनको योगदान दिए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका बलर अजय चौहानले चार विकेट लिए। उनले ९.५ ओभरमा ३७ रन खर्चेर आरिफ शेख, अभिनाश कर्ण, करण केसी र सरवन यादवलाई आउट गरे। कप्तान देव खनालले ३ विकेट लिँदा बिर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान एक/एक विकेट हात पारे।
यसअघि टस जितेर पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २५६ रनको बलियो योगफल तयार पारेको थियो। ओपनर रञ्जित खड्काले १२८ बलमा १२८ रनको उत्कृष्ट शतकीय पाली खेले। उनले १३ चौका र ३ छक्का प्रहार गरे। ४६औँ ओभरमा करण केसीको बलमा आउट हुनु अघि उनले टोलीलाई मजबुत स्थितिमा पुर्याएका थिए।
रञ्जितको शतकमा आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन थपे। अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्।
पुलिसका लागि ललित राजवंशीले ३ विकेट लिए भने राशिद खान र दिनेश खरेलले समान २/२ विकेट लिए। करण केसी, आरिफ शेख र दिपक सेरालाले एक/एक विकेट हात पारे।
यस जितसँगै लुम्बिनी प्रदेश ७ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित पुलिस समान ७ अंकका साथ तेस्रो स्थानमै कायम रहेको छ।





