जीतपुरसिमरा १ मा एमालेको घरदैलो, उम्मेदवार उत्साही


eShilalekh

२४ बैशाख २०७९, शनिबार २२:२९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयामा नेकपा एमालेले घरदैलो सम्पन्न गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै एमालेले घरदैलो सम्पन्न गरेको हो ।

घरदैलोमा एमालेबाट नगर प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरी, उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारी, वडाध्यक्ष पदका उम्मेदवार ताराबहादुर बस्नेत (हिरा), महिला सदस्य पदकी उम्मेदवार लक्ष्मी आचार्य, दलित महिला सदस्य पदकी उम्मेदवार शान्ति परियार, सदस्य पदका उम्मेदवार ईश्वर थपलिया र नारायण लामासहित एमालेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

घरदैलोमा एमाले पोलिव्युरो सदस्य एवम् मधेस प्रदेश ईन्चार्ज पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, पूर्व जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरी, जीतपुरसिमरा निर्वाचन परिचालन कमिटी संयोजक मनोज पौडेलसहित एमालेका कार्यकर्ता सहभागी थिए । पथलैयाका मतदातामाझ मत माग्दै पुगेका उम्मेदवारले पथलैयाको समग्र विकासका लागि एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

एमालेको जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीका संयोजक पौडेलले घरदैलोमा उत्साहजनक सहभागिता देखिएको बताए । उनले वडा नं. १ मा एमालेको जित सुनिश्चित भएको दावी गरे ।

मत माग्दै आएका उम्मेदवारलाई स्थानीयले अबिर र माला लगाएर जितका लागि शुभकामना दिएका थिए । घरदैलोपछि वडाध्यक्षका उम्मेदवार बस्नेतले मतदाताको प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्