बाराको सान्त्वना जित, पर्सा ६ विकेटले पराजित

सिमराः बारा जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा पर्सामाथि ६ विकेटको सान्त्वना जित हात पारेको छ। जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा पर्साले दिएको १३१ रनको लक्ष्य १९.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै बाराले सान्त्वना जित हात पारेको हो ।
बाराको जितमा साहिल पटेल नायक बने। उनले अविजित ४६ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोहोर्याए । ३८ बल खेलेका साहिलले ६ चौका र एक छक्का प्रहार गरे । महमद साहिद अलीले पनि अविजित ३१ रन जोड्दै महत्वपूर्ण साथ दिए । अलीले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । ओपनर साबजान मन्सुरीले २८ रन बनाउँदा रविकुमार साहले १७ रनको योगदान दिए ।
पर्साका लागि नितेश पटेल, वशिम मन्सुरी, अभय यादव र अरमान शेखले समान एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनाएको थियो । पर्साका सम्साद मन्सुरीले २७, अकिब अंसारीले २४, साजेद मन्सुरीले १७, हासिम अंसारीले १६, सफवान अलीले १५ र आदर्श भण्डारीले ११ रन जोडे ।
बाराका करण साह तेलीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । खिलराज सर्राफ, सिराज हवारी र रोहन साहले समान एक/एक विकेट हात पारे ।
खेलको प्लेयर अफ द म्याच बाराका साहिल पटेल घोषित भए । उनलाई नेकपा जीतपुरसिमराका अध्यक्ष प्रेम बरालले पुरस्कार प्रदान गरे । साथै जनकपुर बोल्ट्सका तर्फबाट सन्तोष दाहालले जर्सी हस्तान्तरण गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन् । समूह ‘बी’ मा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब, मकवानपुर र चितवन रहेका छन् । यस समूहको शीर्ष टोली फाइनलमा पुग्नेछ ।
समूह ‘ए’ बाट सर्लाही जिल्ला क्रिकेट संघ फाइनलमा प्रवेश गरिसकेको छ। सर्लाहीले पर्सालाई १७ रन र बारालाई ४१ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता आयोजना भइरहेको छ।





