वर्षाले प्रभावित खेलमा डीएलएस मेथडबाट मधेसको जित


eShilalekh

२५ चैत्र २०८२, बुधबार १८:५७

सिमराः वर्षाका कारण प्रभावित बनेको खेलमा मधेस प्रदेशले डीएलएस (डकवर्थ–लुईस–स्टर्न) मेथडको आधारमा गण्डकी प्रदेशलाई १८ रनले पराजित गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण अवरुद्ध बनेपछि नतिजा डीएलएसमार्फत निकालिएको हो।

मधेसले दिएको १७३ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा पाँच विकेट गुमाउँदै ८० रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। लामो समयसम्म वर्षा नरोकिएपछि डीएलएस विधिअनुसार मधेसलाई विजेता घोषित गरिएको हो।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले अविजित ४९ रन बनाए। दीपक डुम्रेले १३ रन जोडे भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। मधेसका विशाल पटेल, रञ्जित कुमार, आशिक बैठा र आदिल आलमले समान एक/एक विकेट लिए।

यसअघि वर्षाका कारण खेल ३५ ओभरमा सीमित गरिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको मधेसले ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियो। मधेसका ओपनर मयन यादवले ४३ रन बनाए भने प्लेयर अफ दि म्याच विशाल सुस्लिङले ४० रनको योगदान दिए। कप्तान अनिल साहले ३६, विशाल पटेलले १८ र पवन सर्राफले ११ रन जोडे।

गण्डकीका सुभाष भण्डारी र अप्राजित पौडेलले समान तीन/तीन विकेट लिए। अंकित न्यौपाने, क्रिविन श्रेष्ठ, कमल परियार र सन्देश पन्थीले एक/एक विकेट हात पारे।

यस जितसँगै मधेस प्रदेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मधेसले ६ खेलबाट ९ अंक जोडेको छ भने गण्डकी प्रदेश ७ खेलबाट ५ अंकसहित आठौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्