चितवन दुई विकेटले बिजयी, मकवानपुर स्तब्ध


eShilalekh

२६ चैत्र २०८२, बिहीबार २०:१२

सिमराः चितवनले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिहीबार मकवानपुरलाई दुई विकेटले पराजित गरेको छ । जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा मकवानपुरले प्रस्तुत गरेको १३४ रनको लक्ष्य १९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्दै चितवनले महत्वपूर्ण जित निकालेको हो ।

चितवनको जितमा दिपेश श्रेष्ठ र सुदीप अर्यालले विष्फोटक ब्याटिङ गरे । दिपेशले १० बलमा तीन छक्का प्रहार गर्दै २२ रन बनाए । सुदीपले ९ बलमा दुई छक्का र दुई चौकासहित २२ रन जोडे । यसैगरी डेनिल गुरुङले ३१ र रिजन काफलेले २६ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । मकवानपुरका लागि रोहित ठाकुरले अविजित २८, रामनरेश गिरीले २७, गौरव खड्काले २१, विशेषबिक्रम थापाले १८ र युविन बुढाथोकीले १४ रन बनाए ।

चितवनका दीपेश श्रेष्ठले तीन विकेट लिँदा सुदीप अर्याल र क्रिजन गुरुङले दुई/दुई विकेट लिए । दीपेश प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उमपहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईली र युवा व्यवसायी किसन ढकालले पुरस्कृत गरे । शिक्षक बसन्त ढकालले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरे ।

चितवनको जितसंगै समूह ‘बी’ को खेल रोमाञ्चक बन्न पुगको छ । यस समूहमा आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लब, चितवन र मकवानपुर छन् । चितवन र मकवानपुरले एक/एक खेल जितिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक र चितवनबीच खेल हुनेछ । उक्त खेलमा चितवन बिजयी भएमा सहजै फाइनलमा पुग्नेछ भने आयोजक बिजयी भएमा नेट रनरेटका आधारमा एउटा टोली फाइनलमा जानेछ । समूह ‘ए’ बाट भने सर्लाही फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्