टेक्सासमा एनएसटी क्रिकेट कप हुने

टेक्सास(अमेरिका): नेपाली समाज टेक्सासको आयोजनामा अमेरिकाको टेक्सासमा `एनएसटी क्रिकेट कप २०२६´ आयोजना हुने भएको छ । नेपाली समुदायबीच खेलकुदमार्फत एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।
एनएसटीका अध्यक्ष बिजय भुसालका अनुसार प्रतियोगिता मे २२ देखि मे २५ सम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाको ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा आयोजना गरिँदैछ ।
आयोजकका अनुसार प्रतियोगिताले टेक्सासमा बसोबास गर्ने नेपाली युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ । एनएसटीका खेलकुद संयोजक उजित अधिकारीले समाजद्वारा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि प्रति टोली एक हजार अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। विजेता टोलीले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
सीमित टोलीहरू मात्र सहभागी गराइने भएकाले ‘पहिले आउनेलाई पहिले अवसर’ को आधारमा दर्ता गरिने खेल संयोजक अधिकारीले बताए । उनले क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई उत्साहपूर्वक प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेका छन् ।





