कोशीमाथि एपीएफको पाँच रनको रोमाञ्चक जित


eShilalekh

२७ चैत्र २०८२, शुक्रबार १९:२६

सिमराः विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ। जनकपुरस्थित रामजानकी मैदानमा शुक्रबार भएको खेलमा २२५ रनको लक्ष्य पछ्याएको कोशी २२० रनमै सीमित भएपछि एपीएफ विजयी बनेको हो।

जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक रहेको अवस्थामा कोशीले लगातार दुई महत्वपूर्ण विकेट गुमाएपछि खेल एपीएफतर्फ मोडिएको थियो। यो हारसँगै आठ खेल खेलिसकेको कोशी अझै जितविहीन छ।

कोशीका ओपनर अंकित सुवेदी र सुमन श्रेष्ठले उत्कृष्ट सुरुवात दिलाउँदै पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेका थिए। अंकितले ७२ रन बनाउँदा सुमनले ६५ रन जोडे। तर, उनीहरूको साझेदारी एपीएफका अभिषेक गौतमले २६औं ओभरमा तोडेपछि खेलको दिशा परिवर्तन भयो।

प्लेयर अफ दि म्याच बनेका अभिषेकले त्यसपछि लगातार विकेट लिँदै कोशीको मध्यक्रम ध्वस्त पारे। १२८ रनको अवस्थामा चार विकेट गुमाएपछि दबाबमा आएको कोशीलाई रोहन साहले सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

कोशीका लागि आशिष मगरले १७ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। अन्ततः पहिलो जित नजिक पुगेको कोशी पराजित हुन बाध्य भयो।

एपीएफका लागि अभिषेक गौतमले चार विकेट लिए। कप्तान रोहित पौडेलले दुई विकेट हात पार्दा अमर रौतेला र भूवन कार्कीले समान एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो। एपीएफका सन्दीप जोराले ७२ रनको महत्वपूर्ण इनिङ खेले। उनले ९४ बलमा एक छक्का र आठ चौका प्रहार गरे। सुमित महर्जनले ५७ रन बनाउँदै अर्धशतक पूरा गरे भने अमर रौतेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन जोडे।

कोशीका सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो, दीपेश कंडेल र रोहन साहले समान एक/एक विकेट लिए।

यस जितसँगै एपीएफ आठ खेलबाट ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले तीन जित, तीन हार र एक खेल वर्षाका कारण अनिर्णित खेल्दै अंक बाँडेको छ।

कोशीको भने यो सातौं हार हो। आठ खेलमध्ये एक खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको कोशीले बाँकी सात खेलमा हार व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्