अर्जुन कुमालको शतकमा गण्डकीको शानदार जित

वीरगन्जः ओपनर अर्जुन कुमालको उत्कृष्ट शतकीय प्रदर्शनमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि प्रभावशाली जित निकालेको छ। आइतबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। गण्डकीका लागि अर्जुन कुमाल नायक सावित भए। उनले १३० बलमा अविजित १०३ रन बनाउँदै टोलीलाई जित दिलाए। आफ्नो इनिङमा उनले एक छक्का र १३ चौका प्रहार गरे। जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो। यसअघि उनले कोशीविरुद्ध १०२ रन बनाएका थिए। प्रतियोगितामा हालसम्म ४९८ रन बनाउँदै उनी सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् ।
गण्डकीका अर्का ओपनर क्रिबिन श्रेष्ठले ४३ रनको योगदान दिए भने दिपक डुम्रे २५ रनमा अविजित रहे। मुस्कान थापाले २३ रन जोडे ।
लुम्बिनीका लागि सन्तोष यादव र दिनेश बोहोराले समान एक/एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको थियो। लुम्बिनीका सन्तोष यादवले सर्वाधिक ८० रन बनाए भने सलाउदिन खानले ६० रनको महत्वपूर्ण योगदान दिए। दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। ओपनर रञ्जित खड्का भने एक रनमै आउट भए ।
गण्डकीका बलर विपिन खत्रीले चार विकेट लिँदा अप्राजित पौडेलले तीन विकेट लिए। क्रिबिन श्रेष्ठले दुई तथा विश्व कार्कीले एक विकेट लिए ।
यस जितसँगै गण्डकीले आठ खेलबाट सात अंक जोडेको छ। समान सात अंक भए पनि लुम्बिनीले भने सात खेल मात्रै खेलेको छ ।





