पुलिसमाथि मधेसको जित, जय ट्रफी खेल्ने पक्का

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा मधेस प्रदेशले महत्वपूर्ण जित हात पारेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बुधबार मधेसले नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको हो ।
जितसँगै मधेसले तेस्रो संस्करणको जय ट्रफी खेल्ने स्थान सुरक्षित गरेको छ। प्रधानमन्त्री कपका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् भने शीर्ष ६ टोली जय ट्रफीका लागि छनौट हुनेछन् । मधेसले ९ खेलबाट ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहँदै छनौट सुनिश्चित गरेको हो ।
यसपटक मधेससँगै त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब जय ट्रफीका लागि छनौट भएका छन्। यसअघि शीर्ष चार टोली मात्र जय ट्रफी खेल्दै आएका थिए भने नेपाल क्रिकेट संघ (क्यान) ले यस वर्षदेखि शीर्ष ६ टोलीलाई सहभागी गराउने निर्णय गरेको हो।
खेलमा १३१ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मधेसको जितमा अरनिको यादवले अविजित ६५ रन बनाउँदै उत्कृष्ट अर्धशतकीय पालि खेले। रुपेश सिंहले पनि अविजित २७ रनको योगदान दिए। कप्तान अनिल साह भने मात्र १ रनमा आउट हुँदा हिमांशु दत्तले १८ रन जोडे।
पुलिसका लागि गुलशन झाले तीन विकेट लिए भने सागर ढकालले २ विकेट हात पारे। ललित राजवंशीले पनि एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले कमजोर प्रदर्शन गर्दै ४० ओभरमा सबै विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। पुलिसका कुशल भुर्तेलले ३९ रन बनाउँदा शंकर रानाले २७ रन जोडे। रसिद खानले १८ रन बनाउँदा दिनेश खरेल र गुलशन झाले समान १५/१५ रनको योगदान दिए।
मधेसका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई दबाबमा राखे। पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले समान तीन/तीन विकेट लिए भने अरनिको यादवले १ विकेट हात पारे।





