लिग चरणमा आर्मी अपराजित, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने


eShilalekh

२ बैशाख २०८३, बुधबार १७:१८

वीरगन्ज: त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरण अपराजित रहँदै प्रभावशाली यात्रा तय गरेको छ। लिग चरणको अन्तिम खेलमा बुधबार लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गर्दै आर्मीले आफ्नो अपराजित अभियान कायम राखेको हो।

यसअघि नै दुई खेल अगावै फाइनलमा स्थान पक्का गरिसकेको आर्मीले लिगका ९ खेलमध्ये ८ खेलमा जित निकाल्दा एक खेल वर्षाका कारण रद्द भएको थियो। १७ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै आर्मी फाइनलमा प्रवेश गरेको हो।

आर्मीले शुक्रबार १२ अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आर्मी लगातार आठौं पटक फाइनलमा पुगेको हो भने सुदूरपश्चिमले पहिलो पटक फाइनल यात्रा तय गरेको छ।

जनकपुरस्थित रामजानकी मैदानमा भएको खेलमा १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। आर्मीको जितमा कुशल मल्लले ४१ रन बनाउँदै महत्वपूर्ण योगदान दिए। अर्जुन साउदले २८, भीम सार्कीले १८ तथा इमरान शेखले अविजित १६ रन जोडे।

लुम्बिनीका सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ६ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए भने निर्मल गुरुङले ४ विकेट हात पारे। उनीहरूको प्रभावशाली प्रदर्शनका बाबजुद लुम्बिनी जितबाट टाढा रह्यो।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। रञ्जित खड्काले सर्वाधिक २८ रन बनाए भने कप्तान देव खनालले २३, आकाश त्रिपाठीले २१ र प्रज्वल थापाले १५ रन योगदान गरे।

आर्मीका बलर कुशल मल्ल चम्किँदै ४ विकेट लिए। नरेन साउद र भीम सार्कीले समान दुई/दुई विकेट लिए भने बसिर अहमद र साहब आलमले एक/एक विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्