पाँचौँ परवानीपुर गोल्डकप शनिबारदेखि सुरु हुँदै


eShilalekh

३ बैशाख २०८३, बिहीबार १७:४९

सिमराः पाँचौँ संस्करणको ‘परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता’ शनिबारदेखि सुरु हुने भएको छ । शक्ति युवा क्लबको आयोजनामा वैशाख ५ गतेदेखि १२ गतेसम्म परवानीपुर खेल मैदानमा प्रतियोगता सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा छिमेकी मुलुक भारतको एक टोलीसहित नेपालका सात गरी कूल आठ वटा समूहले सहभागिता जनाउने छन् ।शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लब (बारा), वीरगन्ज युनाइटेड क्लब, वीरगन्ज युथ क्लब, रिगल एन्फा क्लब (हेटौँडा), नव जनजागृति युवा क्लब (सिमरा), चिडिया दह क्लब (रौतहट), निजगढ फुटबल क्लब र भारतको यङ्ग स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितालाई भव्य बनाउन आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता संयोजक सञ्जय मण्डलका अनुसार उपाधि विजेताले नगद रू दुई लाख र उपविजेताले रू एक लाख प्राप्त गर्नेछन् । नगदका साथै दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी खेलमा विघागत उत्कृष्टताका लागि पनि पुरस्कारको व्यवस्था गरिएको सहसंयोजक दीपक यादवले जानकारी दिएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रू पाँच हजार एक सय प्रदान गरिनेछ भने उत्कृष्ट डिफेन्डर, फरवार्ड र प्रत्येक दिनको खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) लाई समेत नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।

स्थानीय स्तरमा खेलकुदको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो गोल्डकप आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्