परवानीपुर गोल्डकपः आयोजक फाइनलमा, वीरगन्ज युनाइटेड सडनडेथमा पराजित

सिमरा: पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बलियो टोली वीरगन्ज युनाइटेड क्लबलाई बुधबार सडनडेथमा पराजित गर्दै आयोजक अन्तिम दुईमा प्रवेश गरेको हो ।
निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा पनि दुवै टोलीले ३–३ गोल गरेपछि नतिजा सडन डेथमार्फत निस्किएको हो ।
खेलको सुरुआतमै आयोजकले आक्रामक प्रदर्शन गर्दै अग्रता बनाएको थियो। चौथो मिनेटमा सुजन श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई अघि बढाए भने १०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर २-० बनाएपनि अग्रता जोगाउन सकेन ।
३६औं मिनेटमा वीरगन्ज युनाइटेडका युवराज खड्काले गोल गर्दै अग्रता घटाए । ५५औं मिनेटमा सागर चौधरीले बराबरी गोल गर्दै खेल २–२ को स्थितिमा पुर्याए ।
निर्धारित समय बराबरीमा सकिएपछि भएको टाईब्रेकरमा समेत दुबै टोलीले ३–३ गोल गरे । टाईब्रेकर समेत बराबरी भएपछि आयोजकले सडनडेथमा जित हात पारेको हो ।
आयोजकका गोलरक्षक रविन बस्नेत उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनलाई वीरगन्ज महानगरपालिका २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब र एन्फा मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ ।
बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय रुपैयाँसहित पुरस्कृत गरिनेछ ।





