परवानीपुर गोल्डकपः निजगढ फाइनलमा प्रवेश

सिमराः निजगढ फूटबल क्लब पाँचौं परवानीपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनल खेलमा एन्फा मकवानपुरलाई २–१ ले पराजित गर्दै निजगढ फाइनलमा प्रवेश गरेको हो ।
निजगढको जितमा सन्तबहादुर गुरुङले दुई गोल गरे । मकवानपुरका लागि भने अभिषेक कुमारले एक गोल गरे ।
खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा मकवानपुर पराजित भएको हो । खेलको १४औं मिनेटमा गोल गर्दै अभिषेकले मकवानपुरलाई अग्रता दिलाएका थिए ।
तर मकवानपुरको अग्रता टिक्न सकेन । खेलको ३९औं मिनेटमा निजगढका सन्तबहादुरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ६५औं मिनेटमा अर्को गोल थप्दै सन्तबहादुरले निजगढलाई २–१ को जित दिलाए ।
सन्तबहादुर प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जतनराउत कुर्मीले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे । निजगढले अब उपाधिका लागि शनिबार आयोजकसँग भिड्नेछ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । फाइनलअघि शुक्रबार वीरगन्ज युथ क्लब र निजगढ फुटबल क्लबको मैत्रीपूर्ण खेल हुनेछ ।





