सिराहामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्य बराबरको अवैध सामानसहित दुई जना पक्राउ

सिराहाः सिराहाको नवराजपुर गाउँपालिका ५ देवनगरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादव रहेका छन् ।
सशस्त्र प्रहरीको नं. ७ गण सिराहाबाट खटिएको टोलीले देवनगर क्षेत्रमा गस्ती गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको स १ ख ५३५ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । ट्रक जाँच गर्दा ठूलो मात्रामा कस्मेटिक सामग्री, टुथपेस्ट तथा दुई सय ६० किलो ओखर फेला परेको पहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको सामानको मूल्य १९ लाख ४७ हजार र जफत गरिएको ट्रकको अनुमानित मूल्य २१ लाख रुपैयाँ रहेको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद गरिएका अवैध सामग्रीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।






