सुरु भयो मलमास


eShilalekh

३ जेष्ठ २०८३, आईतवार १४:२२

सिमराः प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटको अन्तरालमा पर्ने मलमास (अधिकमास) सुरु भएको छ । यो अवधि आगामी असार १ गतेसम्म रहने ज्योतिषविद्हरूले बताएका छन् ।

वैदिक ज्योतिषीय गणनाअनुसार सौरमास र चान्द्रमासको समन्वय गर्ने क्रममा कुनै संक्रान्ति नपरेको महिनालाई मलमास भनिन्छ । शास्त्रीय मान्यताअनुसार यस महिनाको कुनै अधिपति देवता नभएकाले भगवान् श्रीकृष्णले आफ्नै नामबाट यसलाई ‘पुरुषोत्तममास’ नाम दिएको पौराणिक विश्वास रहेको छ । यसअघि २०८० सालको साउन महिनामा अधिकमास परेको थियो ।

धर्मशास्त्रविद्हरूका अनुसार मलमास अवधिभर विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण तथा नयाँ व्रत आरम्भजस्ता मांगलिक कार्य गर्नु शुभ मानिँदैन । नवविवाहित दम्पतीले गर्भाधान दोषबाट बच्न यो अवधि छल्ने परम्परा पनि रहेको छ ।

यद्यपि दैनिक पूजा, पाठ, जप, तप, नियमित व्रत तथा नित्यकर्मलाई भने निरन्तरता दिन धार्मिक रूपमा कुनै रोक नरहेको धर्मशास्त्रविद्हरू बताउँछन् । धार्मिक विश्वासअनुसार यस महिनामा भगवान् नारायणको दर्शन र आराधना गर्नाले पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्