बारामा तीन लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा

सिमराः बारामा सशस्त्र प्रहरीले करिब तीन लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा र बि.ओ.पी. बेनौलीबाट खटिएको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएका सामग्रीहरूमा एक सय ९२ थान स्टिल जग, किराना सामान तथा अन्य विभिन्न घरायसी सामग्रीहरू रहेका छन् । प्रहरीका अनुसार बरामद सामानको अनुमानित बजार मूल्य करिब तीन लाख रुपैयाँ रहेको छ ।
अवैध सामग्री ओसारपसार गर्न प्रयोग गरिएको एउटा मोटरसाइकललाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार सीमाक्षेत्रमा हुने चोरीपैठारी, तस्करी तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी, पैदल गस्ती र चेकजाँचलाई थप कडाइका साथ सञ्चालन गर्दै आएको छ ।






