महोत्तरीमा वनको अतिक्रमित टहरा हटाउन खोज्दा राजमार्ग अवरुद्ध, वार्ता सफल भएपछि खुल्यो सडक

महोत्तरीः डिभिजन वन कार्यालय महोत्तरीले वनको अतिक्रमित जग्गामा निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
गौशाला नगरपालिका १ र बर्दिवास नगरपालिका ५ स्थित महेन्द्र राजमार्ग छेउमा रहेका करिब २० आवासीय पसल तथा टहराहरू हटाउन व्यापक मात्रामा सुरक्षाकर्मी र डोजर परिचालन गरिएपछि स्थानीयहरू आन्दोलित भएका हुन् ।
आक्रोशित स्थानीयले सडकमा टायर बालेर विहान करिब ८ बजेदेखि राजमार्ग ठप्प पारेका थिए । ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार आन्दोलनका कारण केही समय तनाबग्रस्त बनेको परिस्थिति विहान १० बजे वार्तामार्फत सहमति भएपछि शान्त भएको र यातायात पुनः सञ्चालनमा आएको छ ।
बर्दिवास नगरपालिका ५ का वडाअध्यक्ष कारमान स्याङ्गवासँगको वार्तामा सुकुम्बासीहरूलाई आफैं घर खाली गराउन समय दिने शर्तमा आजका लागि घरटहरा भत्काउने प्रक्रिया स्थगित गरिएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार सो क्षेत्रमा रहेका संरचनाहरू हटाउन यसअघि नै पटक–पटक १५ दिने, सात दिने र तीन दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।
प्रमुख मिश्रले राजमार्ग छेउमा अन्य स्थानका मानिसहरूले वनको जग्गा अतिक्रमण गरी सुरुमा सानो पसल र टहरा बनाएको र हाल ती संरचनाहरू अर्धपक्की घरको रूपमा विकास भइसकेकाले कानुनी रूपमै हटाउन खोजिएको जनाएका छन् ।
आजको लागि डोजर चलाउने कार्य रोकिए पनि स्थानीयले आफैं ठाउँ खाली गर्नुपर्ने सर्तमा तत्कालका लागि आन्दोलन स्थगित भएको छ।






