बाराका भूमिहीनद्वारा सरकारलाई सात बुँदे माग, आन्दोलनको चेतावनी


eShilalekh

६ जेष्ठ २०८३, बुधबार २२:२८

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुधबार सरकारसमक्ष सात बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएका छन् ।

सिमरास्थित डिभिजन वन कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै उनीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए तीन चरणमा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उपमहानगरपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित पुगेका भूमिहीनहरूले वन कार्यालयले नागरिकलाई अतिक्रमणकारीको संज्ञा दिएर त्रसित बनाउने काम गरेको आरोप लगाएका छन् ।

उनीहरूले वर्षौंदेखि बसोबास गर्दै कर तिर्दै आएका, नागरिकता प्राप्त गरेका, विद्युत् र खानेपानी सेवा उपभोग गरिरहेका तथा विद्यालय र स्वास्थ्यचौकी स्थापना भइसकेका बस्तीलाई जबर्जस्ती हटाउने प्रयास अमानवीय र संविधानविपरीत भएको बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, १४, १६, १७, १८, २१ र २२ का विभिन्न बस्ती वन क्षेत्रसँग जोडिएको भन्दै हटाउने तयारी भएपछि स्थानीयमा त्रास बढेको हो । विशेषगरी पथलैया, दुधौरा खोला क्षेत्र, टाँगीयाबस्ती, पिलुवा–महेन्द्रनगर, चकरी र खयरघारीलगायत क्षेत्रका अधिकांश बासिन्दासँग लालपूर्जा छैन ।

केही दिनअघि वडा नम्बर २२ को तीन नम्बर पुल क्षेत्रमा वन कार्यालयले डोजर प्रयोग गरी बस्ती हटाएपछि अन्य क्षेत्रमा पनि हटाउने सूचना जारी भएको भन्दै स्थानीयहरू आन्दोलित बनेका छन् ।

ज्ञापनपत्रमार्फत स्थानीयले तत्काल बस्ती नहटाउन, वैकल्पिक आवास र पुनर्स्थापनाको सुनिश्चितता गर्न, लालपूर्जा वितरण प्रक्रिया अघि बढाउन तथा राष्ट्रिय भूमि आयोगमार्फत वास्तविक भूमिहीनको लगत संकलन गरी कानुनी स्वामित्व दिलाउन माग गरेका छन् ।

साथै बल प्रयोग, डरधम्की र विभेदपूर्ण व्यवहार बन्द गरी स्थानीय सरकार, वन कार्यालय, भूमि आयोग तथा सरोकारवालासँग वार्तामार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ । माग सम्बोधन नभए पहिलो चरणमा जनभेला, हस्ताक्षर संकलन र धर्ना, दोस्रो चरणमा वन कार्यालय घेराउ र जनप्रदर्शन तथा तेस्रो चरणमा प्रशासनिक कार्यालय र त्रिभुवन तथा महेन्द्र राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिइएको छ ।

यता सुजित कुमार झाले वन कार्यालयले सबै बस्ती हटाउने योजना नराखेको स्पष्ट पारेका छन् । उनका अनुसार वडा नम्बर १ अन्तर्गत पथलैयाको पूर्वटोल र दुधौरा खोला किनारका केही बस्ती हटाउन एक वर्षअघि नै सूचना जारी गरिएको भए पनि अन्यत्र तत्काल हटाउने योजना नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्