बाराको बारैनिया बजार क्षेत्रमा सडक विस्तार तीव्र, ३० फिट चौडा बनाउन संरचनाहरूमाथि चल्यो डोजर


eShilalekh

७ जेष्ठ २०८३, बिहीबार १४:३४

सिमराः बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ स्थित बारैनिया बजारको उत्तरतर्फ जाने सडकलाई ३० फिट चौडा बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

सडक विस्तार अभियानअन्तर्गत सडकको गुरुयोजना क्षेत्रभित्र परेका स्थानीय घर टहरा तथा अवैध संरचनाहरूलाई डोजर लगाएर हटाइएको छ । प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त २५ लाख रुपैयाँको लगानी तथा विश्रामपुर गाउँपालिकाको प्राविधिक एवं प्रशासनिक सहकार्यमा उक्त सडक निर्माण तथा स्तरोन्नति गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सडक संरचना हटाउने र विस्तार गर्ने कार्यको निरीक्षण तथा व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थिति रहेको थियो । कार्यस्थलमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो, वडा नम्बर २ का अध्यक्ष मनोज यादव, वडा नम्बर १ का अध्यक्ष सन्तोष पटेललगायतको सहभागिता रहेको थियो ।

सुरक्षा व्यवस्थालाई चुस्त राख्न र कुनै अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालय गण्डकबाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो भने छतवा र बलिरामपुर क्षेत्रका प्रशासनिक प्रतिनिधिहरूले समेत उक्त कार्यमा सहयोग पुर्‍याएका थिए ।

स्थानीय वडावासीहरूको प्रतक्ष्य उपस्थिति र सद्भावका बीच सडक क्षेत्र ओगटेर बनाइएका संरचनाहरू हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । वर्षौंदेखि साँघुरो सडकका कारण सास्ती भोग्दै आएका स्थानीयवासीहरू यस कदमबाट उत्साहित देखिएका छन् ।

स्थानीयका अनुसार सडक विस्तारको काम सम्पन्न भएसँगै यस क्षेत्रमा आवतजावतमा निकै सहजता थपिनेछ भने बारैनिया बजार क्षेत्रको आर्थिक तथा व्यापारिक विकासमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्