महोत्तरीको छुट्टाछुट्टै स्थानमा डुबेर चार बालिकाको मृत्यु

महोत्तरी: महोत्तरीको छुट्टाछुट्टै स्थानमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका ७ सरपल्लो गाउँको नदीमा तीन जना र गौशाला नगरपालिका ४ रजखोर गाउँमा एक जना बालिकाको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मनरासिस्वा ७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी, ६ वर्षीया शिवानीकुमारी तथा सोही ठाउँका अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुन रहेका छन् ।
दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका तीनै जना बालिकाको नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी गौशाला नगरपालिका ४ रजखोर गाउँमा स्थानीय नरेश महतोकी दुई वर्षीया छोरी दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जनाएका छन् । घटनालगतै मृतक चारै जना बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






