हावाहुरीमा रुखको हाँगा खस्दा निजगढमा एक जनाको मृत्यु


eShilalekh

११ जेष्ठ २०८३, सोमबार २१:३४

सिमरा: निजगढमा सोमबार साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ४ निवासी ५५ वर्षीय साइला भनिने देवबहादुर अर्याल रहेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने का अनुसार सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा गम्भीर घाइते भएका अर्याललाई तत्काल उपचारका लागि निजगढस्थित सामुदायिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनामा ट्याक्टरमा सवार नुवाकोटको सूर्यगढी गाउँपालिका १ लज्याङ घर भई हाल निजगढ ५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
ट्याक्टर चालक निजगढ नगरपालिका ४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेका छन् । घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मृतक अर्यालको शव हाल सामुदायिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्