मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सिमरामा

सिमरा: मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु हुँदैछ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
मधेस खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगितामा विभिन्न विधाका कुल सात सय ५२ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने एक सय २४ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने परिषद्ले जनाएको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते तथा उसु खेल समावेश गरिएको छ । एथलेटिक्सतर्फ एक सय ७६ खेलाडी सहभागी हुनेछन् भने तेक्वान्दो, कराँते र उसुमा समान ९६/९६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै भलिबल र कबड्डीतर्फ मधेस प्रदेशका आठवटै जिल्लाका महिला तथा पुरुष टोली सहभागी हुनेछन् । प्रत्येक टोलीमा ९ जना खेलाडी रहेका छन् ।

प्रतियोगिता सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन प्रदेशका आठवटै जिल्लाबाट खेलाडीहरू सिमरा आउने क्रम जारी रहेको छ । एथलेटिक्सका खेलहरू सिमरा रंगशालामा सञ्चालन हुनेछन् ।
प्रतियोगितालाई व्यवस्थित बनाउन खेलकुद परिषद्का प्राविधिक तथा कर्मचारीहरू तयारीमा जुटिरहेका छन् ।
प्रतियोगिताको उद्घाटन सिमरा रंगशालामा मंगलबार दिउँसो हुनेछ । मधेसका पूर्व खेलकुदमन्त्री प्रमोद जयसवालले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।






