सिमरामा मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु


eShilalekh

१२ जेष्ठ २०८३, मंगलवार १७:४९

सिमराः मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि बाराको सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

मधेस खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका पूर्व खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयवालले गरेका हुन् । उद्घाटन समारोहमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नेपाली सेना २८ नम्बर अड्डाका महासेनानी रञ्जन कार्की, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते तथा उसु खेल समावेश गरिएको मधेस खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका कुल सात सय ५२ खेलाडी सहभागी भएका छन् ।

एथलेटिक्सतर्फ एक सय ७६ खेलाडी सहभागी छन् भने तेक्वान्दो, कराँते र उसुमा समान ९६/९६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै भलिबल र कबड्डीतर्फ मधेस प्रदेशका आठवटै जिल्लाका महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा ९ जना खेलाडी रहेका छन् ।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने एक सय २४ जना खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्