कलैया र महागढीमाईका नगर प्रहरीबीच सीमा विवादमा झडप, ६ जना घाइते


eShilalekh

१३ जेष्ठ २०८३, बुधबार १३:३५

सिमराः बाराको कलैया उपमहानगरपालिका २६ र महागढीमाई नगरपालिकाको सीमा क्षेत्रमा रहेको छठिया पोखरीमा सीमा विवाद चर्किदा दुवै पालिकाका नगर प्रहरीबीच मंगलबार साँझ झडप भएको छ ।

सिस्वा–महेशपुरस्थित उक्त पोखरी नजिकै संघीय सरकारको खानेपानी आयोजनाको परिसर विस्तार गर्ने क्रममा दुई पक्षबीच विवाद सुरु भएको थियो ।

महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् । झडपमा परी दुवै पक्षका कुल ६ जना नगर प्रहरी घाइते भएका छन् ।

कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार कलैयातर्फका नगर प्रहरीहरू लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन् र उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी महागढीमाई नगरपालिकाका नगर प्रहरी धर्मराज यादव घाइते भएको र उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको महागढीमाईका नगर प्रहरी इन्चार्ज अनिल लहेराले जनाएका छन् ।

कलैया र महागढीमाईको सीमा क्षेत्रमा पर्ने छठिया पोखरीको सीमा विषय लामो समयदेखि विवादित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्