अनितादेवी हत्या प्रकरणः एक जना पक्राउ


eShilalekh

१४ जेष्ठ २०८३, बिहीबार १३:०३

सप्तरीः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय बब्लु राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका बब्लुमाथि थप अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिइएको छ । मृतकका श्रीमान् वीरेन्द्र रायले बब्लुविरुद्ध जाहेरी दिएका थिए । घटनापछि फरार रहेका उनलाई गत सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वैशाख २३ गते राति घरमा एक्लै सुतिरहेकी अनितादेवी अचानक बेपत्ता भएकी थिइन् । बिहान घरमा नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए । खोजीका क्रममा घरको आँगनमा रगतका छिटा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय र प्रहरीको संयुक्त खोजी अभियानपछि एक सातापछि अनितादेवीको शव कोशी नदीको पश्चिमी किनारमा फेला परेको थियो । घटनाबारे थप सुक्ष्म अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्