कांग्रेसको जिल्ला सभापति निलम्बित हुँदा उपसभापतिले पाए सफाइ

सिमराः नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीमा उनलाई सफाइ दिएको छ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिअनुसार अनुशासन उल्लंघनको आरोपमा राउतसँग स्पष्टीकरण मागिएको थियो। राउतले निर्धारित समयभित्र आफ्नो स्पष्टीकरण पेश गरेका थिए। समितिले उनको जवाफ, मिसिल संलग्न कागजात तथा थप जाँचबुझको अध्ययनपछि स्पष्टीकरण सन्तोषजनक रहेको निष्कर्ष निकालेको जनाएको छ।
समितिले राउतमाथि लगाइएको आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै थप कारबाही आवश्यक नरहेको ठहर गरेको छ। सोही आधारमा उनलाई आरोपबाट सफाइ दिइएको विज्ञप्तिमा उल्लेख छ।
उपसभापतिलाई सफाई दिँदा समितिले बाराका सभापतिलाई भने निलम्बन गरेको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्ने आरोपसम्बन्धी उजुरीका आधारमा उनीसँग दुई पटक स्पष्टीकरण माग गरिएको थियो ।
समितिले यादवलाई २०८३ वैशाख ३० गते पहिलो पटक पाँच दिन र जेठ १२ गते दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर दुवै पटक उनले कुनै जवाफ नदिएको विज्ञप्तिमा उल्लेख छ।
उक्त विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने र यादवलाई जिल्ला सभापतिको जिम्मेवारीमा कायम राख्दा अनुसन्धान प्रभावित हुन सक्ने निष्कर्षसहित नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय नभएसम्मका लागि उनलाई जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको समितिले जनाएको छ।
यो पनि पढ्नुहोस्ः







